वा ! सीडीओ साब : तीन दिनमा बालक अस्पतालबाट छुटे

Lumbinikhabar Online

लुम्बिनी खबर व्यूरो
गुल्मी, १४ पुस
लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार खर्च तिर्न नसकेर तीन दिनदेखि अलपत्र बालकको उद्धार भएको छ । रेसुंगा नगरपालिका २ का १६ बर्षीय बालक सुनिल विक उपचार खर्च तिर्न नसकेर अस्पतालमा अलपत्र थिए । उनी ०७७ पुस ३ गते अटो दुर्घटनामा परेर गम्भीर घाइते थिए । गुल्मीको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बुधबार दिनभर सहयोग संकलनमा गरेर अस्पतालको खर्च तिरेपछि बालकको अस्पतालबाट छुटेका छन् । शर्माको सक्रियतामा बुधबार एकैछिनमा एक लाख १२ हजार एक सय ४० आर्थिक सहयोग संकलन भएको थियो । अस्पताल प्रशासनसंग केहि रकम छुट गरेर बाँकी रकम तिरेपछि बालक अलपत्र परेको खबर पाउने बित्तिकैबाट घर फर्किएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् । उनले सहयोग गर्ने लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा, जिल्लाका सवै सरोकारवालालाई धन्यवाद दिइन् । अस्पतालबाट निस्किएपछि सुनिलका बुबा सहविर विकले पनि सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् । ‘गरिवका पनि भगवान हुने रहेछन्,’उनले भने,‘सवैको कृपा पार्यौ खुसी छौ ।’
बुधबार जिल्ला प्रशासन कार्यालयमा संचालन गरिएको सहयोग संकलन अभियानमा गुल्मी उद्योग बाणिज्यसंघबाट २० हजार, निर्माण व्यावसायी संघबाट १० हजार, जिल्ला प्रशासन कार्यालयका कर्मचारीबाट ११ हजार ५ सय ५०, सुनिल समिर निर्माण सेवाबाट १० हजार र गुल्मी अस्पतालका कर्मचारीबाट ११ हजार ८ सय १५ सहयोग प्रदान भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण भण्डारीले जानकारी दिए । त्यस्तै स्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, मदन भण्डारी राजमार्ग, जिल्ला समन्वय समिति लगायतका कार्यालय र विभिन्न व्यक्तिहरुले पनि सहयोग गरेका छन् । संकलन भएको रकम प्रमुख जिल्ला अधिकारी शर्माले अस्पतालमा अलपत्र सुनिलकी आमा सुन्तली विकलाई प्रदान गरेकी छन् । उनले आफैले ४ हजार सहयोग गरेर अभियानको सुरुवात गरेकी थिइन् । सुनिलका बुवा रेसुंगा माविका गार्ड भएकाले बिद्यालयले सुरुदेखि सहयोग गरिरहेको छ । प्रध्यानाध्यापक प्रेम भण्डारीले अहिलेसम्म बिद्यालयबाट ५४ हजार बढि सहयोग गरेको बताउँदै फेरि पनि अभियानमा ४ हजार सहयोग गरे । त्यस्तै सोमबारकै निर्माण मजदुर हकहित संरक्षण मञ्चको नेतृत्वमा २७ हजार ५ सय र व्यावसायी प्रितम क्षेत्रीले ३५ हजार सहयोग गरेका थिए । सुनिलले क्षेत्री नेटमा तार बिछ्याउने काम गर्दै आएका थिए । कामबाट फर्कने बेलामा दुर्घटनामा परेका हुन् ।

Comments

comments

Tags