गुल्मीको बम्घाकोट संरक्षणको पर्खाइमा

Lumbinikhabar Online

लुम्बिनी खबर डट.कम
गुल्मी, १७ मंसिर

गुल्मीको ऐतिहासिक बम्घा कोट संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा पर्दे गएको छ । रुरु क्षेत्र गाउँपालिका ६ को अग्लो टुप्पोमा बम्घा कोट पर्छ । कोटकै पेरिफेरी र बाहिर सौन्दर्य निकै मनमोहक छ । भुरे टाकुेर राज्य पहिलेका किवन्दी गाउँमा छन् । तर बम्घाकोटको अहिलेसम्म वास्तविक पुरातात्विक अध्ययन अनुसन्धान भएको छैन् । स्थानीय बिर बहादुर परियार अहिले ५६ बर्षका भए । १८ बर्षको उमेरदेखि बम्घाकोटको मेला महोत्सवमा बाजा बजाउँछन् । उनले जान्नेदेखिनै कोटको अवस्था त्यस्तै छ । ‘म बुढा भएँ कोटको अवस्था फेरिएन, कोट तीन÷तीन वटा टावरले घेरिएको छ्,’उनले भने,‘संरक्षण र प्रचारप्रसार छैन, विकास हुने कुरै भएन ।’ कोटमा प्राचिन समयका बन्दुकको नाल, खुँडा, तरबार छन् । त्यो बेलाको दरबार छाउन प्रयोग गरिएका झिँगटीका टुक्राहरु छन् । यी सामग्रीहरुको कारण कोटको सम्बन्ध ऐतिहासिक भएपनि सोहि अनुसारको अध्ययन, अनुसन्धान र विकासमा पहल भएको छैन् ।
अहलेसम्म बम्घा कोट, दरवार र त्योसंग जोडिएका संरचनाहरुको संरक्षण भएको थिएन् । अहिले पनि रानीले काटेको ढुङ्गाको पश्चिमतिरको भाग फुटेको छ । त्यो संरक्षण नहुनुको प्रमुुख कारण हो । त्यस्तै मन्दिर निर्माणको काम पनि अधुरोनै रहेको छ । गत बर्ष कोट संरक्षणको लागि प्रदेश नं ५ बाट ५० लाख बिनियोजना भएको थियो । मन्दिर निर्माण र रानीले काटेको ढुङ्गा वरिपरी बार तथा पैदल मार्ग निर्माणको लागि बजेट बिनियोजन भएपनि सोचे अनुसार काम गर्न नसकिएको वडाध्यक्ष गिरीप्रसाद सिंजालीले जानकारी दिए । बम्घाकोटमा बिशेष गरेर बर्खे र चैते गरेर दुई दशैमा ठुलो मेला लाग्ने गर्दछ । कोटको मुख्य मन्दिर भँगेर देवताको हो । भैरव मन्दिर र शिलादेवि गरी कोटमा जम्मा चार मन्दिर छन् । अहिले तीनै सरकारसम्म कोटको गूरु योजना निर्माणको लागि पहल भइरहेको सिंजालीले जानकारी दिए ।रानीले काटेको अचम्मको ढुङ्गा छ । रुरु क्षेत्र गाउँपालिका ६ को बम्घा कोटको दक्षिण पश्चिममा छ । झट्ट देख्दा ढुङ्गा काटेकै जस्तो देखिन्छ । ढुङ्गाको टुप्पोदेखि पुछारसम्म एउटै आकारमा काटिएको छ । त्यसैले स्थानीयहरु त्यो ढुङ्गालाई रानीले काटेकी भन्ने गर्छन् । बम्घाकोट पर्यटकीय विकास संरक्षण समिति अध्यक्ष नारायण प्रसाद पौडेलका अनुसार लडाइँमा बम्घाकोटका राजा लामो समय हराए । पीडाले बिक्षिप्त मिना रानीले लामो समय तपस्या गरिन् । तपस्याबाट उठेपछि तरवारले ढुङ्गामा प्रहार गर्ने, काटिए राजाको मृत्यु र नकाटिए जिवित भएकाले खोज्ने उनको योजना थियो । रानीले तरवारले ढुङ्गा काटिएपछि राजा मारिए भनेर दरवार छोडेको किवदन्ती गाउँमा रहेको पौडेलले बताए ।

दरवार छोडेपछि रानी बास बसेको स्थानलाई अहिले रानीबास भन्ने गरिएको छ । उनले संसारका १७ वटा अनौठा चट्टान मध्ये यो ढुङ्गा केही नभएको बताए । सोहि ठाउँमा कुर्सि आकारको ढुङ्गा पनि छ । त्यसमा बसेर राजाले न्याय दिने र दृश्यावलोकन गर्ने गर्थे । त्यो कोटसंग जोडिएर धेरै सन्दर्भहरु रुरु क्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा छन् । कोटको केहि तल सुल डाँडा भनिन्छ । जहाँ राजाले अपराध गर्नेहरुलाई सुली चढाउँथे । अर्को ठाउँ चौतारा हो । सभा तथा स्थानीय भद्र भलादमीसंग भेटघाट र आराम गर्ने ठाउँ चौतारा थियो । भण्डार भन्ने स्थान पनि कोटकै पुर्व तल्लोपट्टी छ । जहाँ भोज भतेर गरिन्थ्यो भन्ने आफुहरुले सुनेको स्थानीय हिरा बहादुर पल्लीले बताए । राजाले पैसा काट्ने ठाउँलाई अहिले बलेटक्सार भन्ने गरिन्छ । रानीको नामबाट नामाकरण गरिएको मिनापोखरी र रानीको हेरबिचार गर्ने रखबारे कालीको नामबाट कालीवन भनिएको सवैको जनजिब्रोमा रहेको पल्लीले बताए ।

Comments

comments

Tags