गाउँगाउँमा राष्ट्रिय परिचय पत्र विवरण संकलनको रौनक

Lumbinikhabar Online

लुम्बिनी खबर संवाददाता
गुल्मी, ९ मंसिर

गुल्मीका गाउँगाउँमा राष्ट्रिय परिचय पत्रको रौनक बढेको छ । जिल्लाको गुल्मी दरवार गाउँपालिकामा कार्तिक २३ र धुर्कोट गाउँपालिकामा कार्तिक २५ गतेबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन अभियान सुरु भएको छ । दुवै गाउँपालिकामा ५८ जना दर्ता अपरेटर र ३४ जना रुजु अधिकारीले विवरण संकलनको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धव पन्थीले बताए । अहिलेसम्म करिव १५ हजार नागरिकले आफ्नो विवरण संकलन गरेका छन् । जिल्लाभर मतदाता संख्याको आधारमा एक लाख ९६ हजार नागरिककोे व्यक्तिगत विवरण संकलन गर्ने अपेक्षा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको रहेको पन्थीले बताए ।

गुल्मी जिल्लाभर राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले दुई महिने राष्ट्रिय परिचयपत्र विवरण संकलनको अभियान संचालन गरेको छ । कोभिडको कारण रोकिएको विवरण संकलनको काम अहिले गुल्मी दरवार र धुर्कोट गाउँपालिका सवै वडामा सुरु भएको छ । राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि कम्प्युटर अपरेटर र रुजु गर्ने अधिकारीलाई विवरण संकलन सम्बन्धी तालिम दिएर वडाहरुमा खटाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनले गत चैतबाटै विवरण संकलनको काम गर्ने योजना बनाए पनि कोभिडको कारण रोकिएको बताए । अहिले सौहार्दपूर्ण वातावरणमा विवरण संकलनको काम भएको शर्माको भनाई छ ।

राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु–उपयोगी प्रमाणपत्र हो । गुल्मीमा ०७६ साउनबाट यो कार्यक्रम लागु भएको हो । जिल्ला प्रशासन कार्यालयमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले आफ्नो विवरण संकलन गरेर राष्ट्रिय परिचय पत्र विवरण संकलनको अभियान शुभारम्भ गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा ०७६ साउनदेखिनै स्थायी स्टेशन स्थापना गरेर विवरण संकलनको काम भइरहेको छ ।

अहिले स्थानीय तहसंगको सहयोग र समन्वयमा गाउँ–गाउँमा पनि विवरण विवरण संकलनको काम भइरहेको छ । कोभिडले गाउँमा नागरिकको बाक्लो उपस्थिती छ । स्थानीय तहको तर्फबाट सवै सहयोग र समन्वय भइरहेको गुल्मी दरवार गाउँपालिका प्रमुख अशोक कुमार थापाले जानकारी दिए । उनले सुरुमा केहि प्राविधिक समस्या देखिएकाले तोकिएको समयमा सवैको विवरण संकलन गर्न नसके थप समय माग गरिने बताए । विभागले नेपाली नागरिकहरुको वैयक्तिक र जैविक विवरणहरुको केन्द्रीकृत रुपमा भन्डारण तथा अभिलेख गरी सबै नागरिकहरुलाई परिचय खुल्ने र नदोहरिने गरी बहुउपयोगी राष्ट्रिय परिचय नम्बर प्रदान गर्ने, नेपाली नागरिकहरुलाई राष्ट्रिय पहिचान सहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्न परिचय पत्रको काम अगाडी बढाएको छ ।

त्यस्तै राष्ट्रिय परिचयपत्र प्रदान गर्न आवश्यक पर्ने पूर्वाधारहरु, नीति तथा कानूनहरुको तर्जुमा गर्ने र नेपाल सरकारबाट नेपाली नागरिकहरूलाई प्रदान गर्ने सेवा सुविधाहरुलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्व गर्नुका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखहरुलाई नीति तथा योजना निर्माणमा प्रयोग उदेश्यका साथ परिचय पत्रको काम भइरहेको छ ।

 

 

Comments

comments

Tags