कोरोना संकटले गाउँले मोह बढ्दै : खोज्न थाले बाँझा जमिन

Lumbinikhabar Online

टोपलाल अर्याल
गुल्मी, ८ जेठ

गुल्मीको धुर्कोट गाउँपालिकाले लकडाउन बढ्दै गएपछि बाँझो जग्गामा खेति गर्ने व्यक्ति र सहकारीलाई अनुदानको व्यावस्था गरेपछि पिपलधाराका युवाहरु सहकारी नै गठन गरेर सामुहिक कृषि खेतीतर्फ लागेका छन् । उनीहरुले विगत १० बर्षदेखि बाँझो रहेको दुई सय ६० रोपनी जग्गामा सुन्तला र कागती खेति संगै भैसी र बाख्रा फर्म संचालन गर्ने योजना बनाएका छन् । अहिले झाडी फाँडेर खाडल खन्ने, खोर निर्माण गर्ने लगायतका काम भएको सहकारीका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
सहकारीले १५ बर्षलाई जग्गा लिज लिएको छ । जग्गामा कुल १७ जना जग्गाधनी छन् । १५ बर्षसम्म सहकारीले कुनै पनि रकम जग्गाधनीलाई नदिने सम्झौता भएको छ । १५ बर्षपछि जस्ताको त्यस्तै जग्गाधनीलाई सहकारीले जग्गा फिर्ता गर्नेछ । दुई ६० रोपनी जग्गालाई तीन भाग अर्थात तीन प्लटमा वर्गिकरण गरिएको छ । जसमध्ये दुई सय रोपनीमा ६ हजार कागती लगाउने, ३० रोपनी जग्गामा तरकारी र मसलेदार खेती लगाइने सहकारी अध्यक्ष विश्वकर्माले बताउनुभयो । बाँकी ३० रोपनी जग्गामा ओखर खेती, गोठ तथा खोर निर्माण गरेर अहिलेलाई पाँच भैँसी र ६० बाख्रा व्यवसायीक रुपमा पाल्न सुरु गरिएको छ । उनले आगामी दिनमा फर्ममा १० भैँसी र एक सय बाख्रा पु¥याउने लक्ष्य रहेको विश्वकर्माको भनाई छ ।
यो काममले स्थानीयले काम समेत पाएका छन् । धुर्कोट गाउँपालिका २ पिपलधारा शुफ्लकी ३५ बर्षीय विष्णु विकको दैनिकी बदलिएको छ । उनलाई अचेल सिकर्मी डकर्मी बहुउदेश्यीय सहकारी संस्थाले काम दिएको छ । विक दैनिक खाडल खन्ने, झाडी सफाई गर्ने काममा व्यस्त हुनुहुन्छ । उक्त काम गरेबापत नास्ता खाएर दैनिक चारसय कमाई पनि भएको छ । सहकारी मार्फत उनले जस्तै दैनिक ४० देखि डेढ सयसम्मले काम पाएका छन् । कोरोना संक्रमणको कारण लकडाउन बढ्दै जाँदा खाद्य संकट आउने विज्ञहरुले चेतावनी दिएका छन् ।कम्पनीहरु बन्द भएपछि वैदेशिक रोजगारीमा गएकाहरु पनि घर फर्किदै छन् । जसका कारण स्थानीय तहहरुले कृषि कर्म उत्पादनलाई प्राथमिकता दिन थालेका छन् । मुसिकोट नगरपालिका वडा नं ५ आँपचौरमा बाँझो जग्गा खनेर २० हजार कफिका विरुवा लगाउने योजना अगाडी बढेको छ । जसको लागि अहिले बाँझो जग्गामा झाडी सफाईको काम भइरहेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । मालिका गाउँपालिका ६ अर्जैमा ३२ रोपनी बाँझो जग्गा खनेर नगदेवाली लगाउने योजना अगाडी बढाएको छ । वडा नं ६ अर्जैस्थित रानीपोखरी कृषि बहुउदेश्यीय सहकारी संस्थाले जग्गा १५ बर्ष भाडामा लिएर प्याज, लसुन, कागती, हलेदो लगायतका नगदेबाली लगाउने योजना बनाएको छ । साथै अर्जेमानै थप एक २० रोपनी जग्गामा कागती खेती गर्नको लागि दुई हजार आठ सय खाडल तयार पारिएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

धुर्कोट गाउँपालिकाले बाँझो जग्गामा सुन्तला, कागती लगायतका अन्य फलफुल खेती गरेबापत प्रति रोपनी तीन हजार र अन्नवारी तथा तरवारी वा मसलेदार खेती गरेमा प्रति रोपनी चार हजार अनुदान उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । मालिका गाउँपालिकाले कृषि कार्य गर्नेहरुको लागि प्रति कलस्टर ७२ हजारका दरले अनुदनको व्यवस्था गरेको छ । त्यस्तै बीउ, कम्पोष्ट मल गाउँपालिकाले निशुल्क प्रदान गर्ने र अर्को बर्षबाट बिरुवा हेरचाहको लागि प्रति बिरुवा एक सय रुपैँया अनुदान प्रदान गर्ने गाउँपालिकाका प्रमुख रित बहादुुर थापाले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकाले जग्गा भाडामा लिएर कृषि खेती गर्नेहरुको लागि जग्गा भाडामा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । कृषि औजार, हाते ट्याक्टर, सानो मिल, बीउ, बिरुवा लगायतका सामग्रीमा ५० प्रतिशत अनुदान प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताउनुभयो ।

Comments

comments