दशै तिहार विदामा पुग्नैपर्ने सत्यवती

Lumbinikhabar Online

लेखक : जितु तरामु मगर
यतिवेला नेपालमा चार्डपर्वको सिजन चलिरहेको छ । शहर रित्तिने र गाउँघर भरिने यो समयमा सरकारी तथा गैर सरकारी क्षेत्रका विभिन्न संघ संस्थाहरुको कार्यालयहरु विदा हुने भएकोले शहर सुनसान जस्तै हुन्छ । उता आफ्नो पुख्र्यौली माटो, डाँडामाथि उमेर ढल्केका आफ्ना आमा–बुबा र आफन्तहरुका लागि “दशैको उपहार” किनमेलका लागि बजारमा मेला जस्तै भिडभाड छ । गाउँ फर्कनका लागि बसपार्कहरुमा टिकटका लागि तछाडमछाड चरिरहेको छ । उता सुन्दर भविष्यको खोजीमा विदेशीन बाध्य भएका दाजुभाई र दिदीवहिनीहरु पनि घरमा प्रतिक्षारत आमाबुबा, छोराछोरी, श्रीमती र आफन्तहरुको लागि कोशेलीको पोको “दुःखको कमाई ठूलठूला सुटकेश” गुडाउँदै गाउँ भित्रिने क्रम बाक्लिंदै छ । यता गाउँमा भने भरीभराउ हुँदैछ । घरहरु पोतिएर कतैै राताम्य कतै सेताम्य भएको छ । देवदेवालय र मठमन्दिरहरु सिंगारिएर ठाँतिएका छन् । खुलेको मौसम निलाम्य आकाशले छपक्कै छोपेर मनोरम बनेको छ गाउँघर । बाटाघाटा धारा चौपारी सार्वजनिक स्थलहरु सफासुग्घर बनेका छन् । अतिवृष्टिले निम्त्याएको पहिरोका कारण उजाड र उदास बनेको ठूलोलुम्पेक र लिम्घा विस्तारै विस्तारै उठिरहेको छ । पीडाहरुले मनमा कहिल्यै नमेतिने खत बनाएको भए पनि मौसम खुलेसंगै मन पनि खुल्दै खुल्दै गएको छ । दिर्घकालिन र स्थायी पुनस्र्थापनाको सन्ताप मनमा छँदैछ ।
साँच्चै चार्डपर्वको रमाईलोे समय छ एकातिर भने अर्काे तिर दुःखी गरिवका लागि बेल पाक्यो, कागलाई हर्ष न विष्मात ! भनेझैं उनिहरुका लागि बोझको भारी बनेर आउनु भन्दा नआएकै वेस यस्ता चार्डपर्व । एक हिसावले उनिहरुको नारकीय जीवनको खिल्ली उडाएर जान्छ दशै तिहारको क्षणिक तामझाम । निकै फरक जीवनशैली छ, समाजमा । यो वर्गीय समाजको उपज हो र यसको अन्त्य अवस्यंभावी र अपरिहार्य नै छ ।  खैर जेहोस, खासमा मैले दशैतिहार लगायत विभिन्न चार्डपर्वहरुको अवसरमा प्राप्त हुने विदा या फुर्सदमा एक गाउँ देखि अर्काे गाउँ सम्म पुगेर घुम्ने र आनन्द लिने मात्र होईन कि जुन ठाउँको भ्रमण गरिन्छ त्यस ठाउँको ऐतिहासिक, पुरातात्विक, सामाजिक, सांस्कृतिक र साँस्कृतिक पक्षहरुको महत्वलाई पनि ग्रहण गर्ने र त्यसको प्रचार प्रसार गरी आन्तरिक पर्यटनको प्रवद्र्धनमा योगदान गरौं भनेर आवह्वान गर्न खोजेको हो । यसले ग्रामीण पर्यटनमा बृद्धि भई स्थानीय समुदायको आयआर्जनमा टेवा पुग्ने छ ।
नेपालको पुनःसंरचना हुनु अघिको गुल्मी जिल्ला २ नं. ईलाका अन्तरगतका गाउँ विकास समितिहरु ठूलोलुम्पेक, अस्लेवा, लिम्घा, हँसरा, जोहाङ, जुनियाँ र भार्से गरी ७ वटा गाविसलाई समेतेर रचना गरिएको हो सत्यवती गाउँपालिका । सत्यवती गाउँपालिका ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुले भरीपूर्ण गाउँपालिका हो । सामाजिक तथा साँस्कृतिक विविधताले उक्तिकै सुन्दर र शुशोभित रहेको छ । यस गाउँपालिकामा ऐतिहासिक प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय सम्भावना बोकेका अनेक सम्पदाहरु रहेका छन् । ती मध्ये यस क्षेत्रकै शानको रुपमा रहेको छ “सत्यवती क्षेत्र” । प्राकृतिक तथा धार्मिक हिसावले अति नै पवित्र र महत्वपूर्ण मानिएको यस क्षेत्र सवै गाउँको शीरमा रहेको छ । यस गाउँपालिकाको नाम के राख्ने भन्ने बहस छलफल भईरहेको वेला “सत्यवती” राखिनु पर्छ भनेर जिल्ला कार्यदलमा नाम प्रश्ताव गर्ने प्रश्तावकको हैसियतले यस पटकको दशैतिहार विदाको अवसरमा “सत्यवती क्षेत्र” को भ्रमणका लागि अनुरोध गर्दा अत्युक्ती होला जस्तो मलाई लाग्दैन ।
गुल्मी जिल्ला प्राचिनकाल देखि नै वडीगाड नदीले छुट्टाएर वडीगाड नदी पूर्वको भूगोललाई पारगुल्मी र वडीगाड नदी पश्चिमको भूगोललाई वार गुल्मी भन्ने चलन रहेको छ । नेपालको एकीकरण हुनु पूर्व पारगुल्मी वाईसी चौविसे राज्यहरु मध्येको एक राज्यको रुपमा रहेको पाईन्छ । साविक निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने हालको सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका र कालिगण्डकी गाउँपालिकाका भूभाग तत्कालिन पारगुल्मी राज्यमा पर्दथ्यो । यस राज्य अन्तर्गतका दरवार गढी एवं किल्लाका भग्नावशेषहरु अहिले सम्म पनि रहेको छ । उक्त राज्यको राजधानीको रुपमा भार्सेको अर्कुल दरवार र रानी कुवा र फुर्से थान (गढी) अझै पनि जिर्ण रुपमा रहेको छ भने चन्द्रकोट–शान्तिपूर र हचिङकोट–ठूलोलुम्पेक क्षेत्रिय दरवारको रुपमा रहेका दरवार एवं रानीपोखरी र किल्ला (गढी)का भग्नावशेष रहेका छन् । चन्द्र शमशेरको शासन कालसम्म सोह्रखानीको नामले चिनिने पारगुल्मीमा रहेका तामा र सिसा खानीहरु सञ्चालनमा रहेको विभिन्न अध्ययनबाट देखिन्छ ।
प्राचिनकाल देखि नै गुल्मीको पूर्वि सिमाना छोएर वग्ने कालिगण्डकी किनारै किनार उत्तरमा तिव्वत, चीन र दक्षिणमा भारतको नौतुना जोड्ने पदमार्ग थियो । व्यापारी तथा भरियाहरु गोरखपूर, नौतुना, सुनौली, बुटवल भैरहवा लगायतका स्थानहरुबाट भारी वोक्न र मालसामान लिन पाल्पा रिडी रुद्रवेणी हुँदै ठूलोलुम्पेकमा रहेको लुम्पेकी थानीको थानमा बाजेबजैको दर्शन एवं सत्यवती माताको दर्शन गरेर पूर्तिघात झर्ने र पुनः कालिगण्डकीको किनारैकिनार पदमार्गमा जोडिन पुग्ने गर्दथे । भारतीय व्यापारी तथा हिन्दु धर्मावलम्वीहरु यहि पदमार्ग हुँदै नेपालको मुक्तिनाथ र तथा बैद्ध भिक्षुहरु तिव्वत भोट जाने आउने गर्दथे । हाल उक्त पदमार्गको ठाउँमा भारतको नौतुना देखि तिव्वतको कोरला जोड्ने कालिगण्डकी करिडोर सञ्चालनमा आईसकेको छ ।

सत्यवती क्षेत्र : किन जाने ?

विश्व शान्तिको अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनीको नामबाट नामाकरण भएको पश्चिमाञ्चलको लुम्विनी अञ्चलकै सवैभन्दा अग्लो शिखर थाप्ले (समुन्द्री सतह देखि २६९० मि. उचाई) संगसंगै उभिएको बुढी सत्यवती समुन्द्री सतह देखी २५११ मि. उचाईमा रहेको छ । सत्यवती क्षेत्र गुल्मीको ठूलो लुम्पेक,लिम्घा र हँसराको शीरमा रहेको छ भने उत्तिकै प्रशिद्धि कमाएको लुम्पेक सत्यवती समुद्री सतह देखि २ हजार मिटर उचाईमा रहेको छ । यी दूई स्थानको विशेषता एउटै भएता पनि धर्मकर्म र भ्रमणका लागि सहज पहँुचका रुपमा लुम्पेक सत्यवती रहेकोछ । सत्यवती क्षेत्र प्राचिन तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण र गरिमामय रहेको छ । सत्यवती क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको केन्द्र हो । यो विभिन्न योगी, ऋषिमुनि तथा तपश्वीहरुले सिद्धि प्राप्त गरेको गौरवशाली पुण्यभूमी अर्थात तपोभूमीको रुपमा रहेको छ । यहाँ करिव दुईसय वर्ष पहिले देखि विभिन्न तपश्वीहरुले पटक पटक तपस्या गरेको ईतिहास पाईन्छ । विभिन्न तपश्वी, ब्रम्हचारी, योगीहरू योगी नरहरीनाथ, गौरी शंकर, डण्डे स्वामी, नागबाबा र ब्रम्हाचारिणी लगायतले तपस्या गरेको किंवदन्ती पाइन्छ । सत्यवती क्षेत्र पश्चिम नेपालकै प्रशिद्ध प्राकृतिक तथा धार्मिक साँस्कृतिक सम्पदाको रुपमा रहेको छ ।
सत्यदेवीको मन्दिरमा गई दर्शन गर्ने र शुद्धचित्त मनले वर मागे चिताएको मनोकाँक्षा पुरा हुने जनविश्वास र परम्परा रहेको छ । हरेक वर्षको कार्तिक शुक्लपक्षको चतुर्दशी साँझ देखि डम्फु मादल र खाजा वोकेर हजारौं मानिसहरु मेला लाग्ने र पूर्णिमाको दिन विहान चिच्याएर वर मागी मनोकाँक्षा पुरा गर्ने, दुध चढाउने, वोका, भेडा, कुखुरा र परेवाको वली दिने, र लोक संस्कृतिहरु नाँच र गीतहरु सोरठी र सालैजो गाएर मेला फरिने चलन छ । दुई सत्यवती मन्दिरको वीचमा मसिना दह (लाली गुँरास क्षेत्र) रहेको छ । यस मसिना दह क्षेत्रमा हिउँद वर्षामा पानी सुक्ने र बढ्ने गर्दैन वरु वरिपरी ठूला ठूला रुखहरु भएपनि दहमा कहिल्यै पातपतिङ्गर पर्दैन, सधै सफा र अचल रहने यस दहको विषेशता हो । यसलाई ब्रम्हाक्षेत्र पनि भनिन्छ । जहाँ वसन्त ऋतुमा लालीगुँरास फुलेर अति सुन्दर र मनमोहक हुन्छ । बुटवल पाल्पा, रिडी रुद्रवेणी हुदै ठूलोलुम्पेक थानी बाजेबज्यैको थान सम्म गाडी यात्रा र त्यसपछि उत्तर तीर ६ किलोमिटर मोटर गाडीको यात्रा पछि सत्यवती क्षेत्रमा पुगिन्छ । यो मेला भर्नका लागि गुल्मीका अतिरिक्त स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु, पर्वत बाग्लुङ्ग, अर्घाखाँचीबाट समेत हजारौं मानिसहरुको घुईचो लाग्दछ ।

थाप्ले लेक र भार्से–जुनियाँ क्षेत्र : किन जाने ?

विश्व शान्तिको अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनीको नामबाट नामाकरण भएको पश्चिमाञ्चलको लुम्विनी अञ्चलकै सवैभन्दा अग्लो शिखर थाप्ले (समुन्द्री सतह देखि २६९० मि. उचाईमा रहेको छ । सत्यवती गाउँपालिकाको भार्से र हँसराको शीरमा रहेको यस लेक जैविक र पर्यावरणीय सुन्दरताले अति नै मनमोहक रहेको छ । अन्तरराष्ट्रिय बजारमा अति नै मूल्यवान र दुर्लभ रहेका सतुवा, सुगन्धवाल, सर्पगन्धा, चिराईतो,कालीकाफल, विषमा, अल्लो, टिमुर, लालीगुँरास जस्ता महत्वपूर्ण जडिवुटीहरु पाईने यस लेकलाई नेपाल सरकारले जनसहभागितामा आधारित सुक्ष्म पारिस्थितिकीय प्रणाली अनुसार व्यवस्थापन गर्ने उद्देश्यले संरक्षीत वनको घोषणा गरेको छ । यसबाट प्राकृतिक स्रोत, जलस्रोत तथा जैविक विविधता र पर्यावरणको संरक्षण र पर्या पर्यटन विकास भई स्थानीय जनताको आयस्रोत विस्तारमा टेवा पुग्ने छ ।
थाप्लेको काखैमा समुन्द्री सतह देखि १७५० मिटर उचाईको उपत्यकामा रहेको सुन्दर नमुना वस्ति भार्से गाउँ रहेको छ । मगरहरुको परम्परागत रीतिरिवाज, भेषभूषा, संस्कृतिले शोभायमान रहेको यस भार्से गाउँमा विभिन्न ऐतिहासिक, पुरातात्विक तथा धार्मिक साँस्कृतिक सम्पदाहरु रहेका छन् । ऐतिहासिक पुरातात्विक अर्कुल राज्यको दरवार भार्सेको साविक वडा नं.३ मा रहेको छ । वाइसी चौविसे कालमा पार्काेट (पारगुल्मी) राज्यको राजधानी भार्सेको अर्कूल डाँडामा रहेको ढुँगे पर्खाल, पुरानो दरवार, भार्से पोखरी, गढी, गहिरो युद्धको ट्रेन्च आदिको भग्नावशेष अहिले पनि सुरक्षित रहेको छन् । धार्मिक मठमन्दिरहरुमा गुफा मन्दिर, झुल्थुङ कालिकादेवी मन्दिर, सिद्धथान महत्वपूर्ण रहेका छन् । तामाखानी, अनेक ढँुगाखानीहरु भार्सेमा रहेका छन् । पुराना कलात्मक शैलीका घरहरु, मगर संस्कृति अन्तर्गत सालैजो, सोरठी,कृष्ण चरित्र, झाम्रे, ठाडो भाका आदि यहाँको अमुल्य गहना हुन् । अर्कुल दरबारको टोप र हतियार राख्ने जुनियाँ कोट एक महत्वपूर्ण ऐतिहासिक पुरातात्विक कोटको रुपमा रहेको छ । जुनियाँकोटमा वडा दशै र दशै पूर्णीमाको दिन शक्तिपीठको रुपमा हतियारको पूजा गर्ने तथा ऐतिहासिक मेला लाग्ने गर्दछ । भार्से मगर संस्कृति, अर्गानिक खानपान र अन्य ऐतिहासिक पुरातात्विक सम्पदाहरुको अध्ययन र अवलोकनका लागि राम्रो गन्तव्यको रुपमा रहेकोछ । बुटवल–पाल्पा –रिडी–रुद्रवेणी–खैरेनीबाट उकालो चढेर जोहाङ जुनियाँ हुँदै भार्से सम्म गाडी यात्रामा पुग्न सकिन्छ ।
दुई दिदीवहिनी जस्तै देखिने थाप्ले र बुढी सत्यवती गगनचुम्वी शिखरका रुपमा रहेका छन् । यी दुई दिदीवहिनीको पर्यटकलाई आकर्षण गर्न सक्ने आ–आफ्नै प्राकृतिक कला र सौन्दर्य छन् । यी दुई मध्ये थाप्लेलाई बौद्ध मार्गीहरुको आकर्षणको केन्द्रको रुपमा विकास गरी लुम्विनी र थाप्लेको सम्वन्ध जोड्ने र बुढी सत्यवती हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र त हो नै, यस क्षेत्रको बृहत्तर विकासका लागि जैविक विविधतायुक्त पर्यावरण, ऐतिहासिक महिमा र संभावनाहरुलाई संरक्षण गर्दै वैज्ञानिक ढंगको योजना तर्जुमा गरी दिगो पर्यटकीय गन्तव्य स्थल वनाउन सकिन्छ । लुम्विनी भ्रमणमा आएका बौद्धमार्गी पर्यटकहरु र पशुपति, मुक्तिनाथ, पाल्पा भैरव स्थान र रिडी जस्ता प्रशिद्ध धार्मिक स्थलमा भ्रमण आउने भारत र चीनका पर्यटकहरुलाई रिडी रुद«वेणी हुँदै गुल्मीको पूर्वि भागमा रहेका ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदा सत्यवती क्षेत्र ठूलोलुम्पेक हचिङकोट, लुम्विनी कै अग्लो शिखर थाप्लेको लेक, भार्सेको अर्कुल दरवारको भग्नावशेष, चन्द्रकोट, भ्रमण गराउँदै ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।

लुम्पेकी थानी बाजे बजैकोे थान

ऐतिहासिक भुरेटाकुरे राजदरवारको भग्नावशेष रहेको हचिङ्कोट र खड्ग देवि मन्दिर कोटको काखमा वडा कार्यालयसँगैे रहेको प्रशिद्ध थानी बाजे बजैको थान लुम्पेकको प्रमूख शक्तिपीठ हो । समुद्री सतह देखी १८०० मि.को उचाईमा रहेको यो ऐतिहासिक, धार्मिक साँस्कृतिक एवं पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण रहेको छ । वाईसे चौविसे राज्यको पालामा एकले अर्काको राज्य कव्जा वा आफ्नो राज्य विस्तारको क्रममा युद्ध क्षेत्र प्रस्थान गर्नु अघि यिनै थानी बाजेबज्यैको थानमा भाकल गरेर मात्र अघि बढ्ने गरेको र लडाईमा विजय हासिल गर्ने गरेको प्राचिन किम्वदन्ती पाईन्छ । देश विदेशका नेपालीहरुले हरेक दिनजसो शुभकार्य गर्नु अघि वा यात्रा गर्नु अघि यसको भाकल गर्ने र पूरा भएपछी राँगो, बोका, कुखुरा, परेवा र भेडा पाठाको पञ्चवली दिने जुली ध्वजा चढाएर पूजा गर्ने चलन छ । विगतमा वाग्लुङ्ग, पर्वत र म्याग्डीका मानिसहरुले वुटवल र तानसेन देखी नुनतेल र वेसाहा वोकेर हिड्ने तथा तिर्थयात्रीहरु रुरुधाम रिडी कालीगण्डकीमा स्नान गरी लुम्पेकी थानीमाईको दर्शन भाकल गरी मुक्तिनाथ सम्मको तिर्थयात्रा पनि यहीँ बाटो भएर गर्दथे । झण्डै तीन सय वर्ष पहिले भुरेटाकुरे राजाहरुले शासन गरेको हचिङ्कोटमा तत्कालिन दरवारको भग्नावषेश, युद्धकलाको अवषेश, रानीपोखरी, हतियार राख्ने ठाउँ (कोट) तोष गहिरा आदि विद्यमान छन् । हचिङ्कोट प्राकृतिक भ्यू टावरको रुपमा रहेको छ । थानी बाजे बजैको थानसम्म बुटवल पाल्पा रिडी रुद्रवेणी अस्लेवा हुँदै गाडीबाट सजिलै पुग्न सकिन्छ ।

रुद्रवेणी राममन्दिर

पवित्र कालिगण्डकी र वडीगाडको संगम स्थलमा रहेको रुद्रवेणी राममन्दिर ऐतिहासिक धार्मिक रुपले अत्यन्तै महत्वपूर्ण रहेको छ । संसारकोे कुनै पनि नदिमा नपाईने दुर्लभ शालीग्रामको भण्डार कालीगण्डकीको किनारमा रहेको राममन्दिरमा हजारौं शिलाको संरक्षण गरिएको छ । हिन्दु धर्मावलम्वीहरुले कालो शिलालाई विष्णु भगवानको अवतारको रुपमा पुज्ने गर्दछन् । वि.सं.१९८२मा डण्डी स्वामी तारकेश्वरले स्थापना गरे पश्चात विभिन्न योगी र ब्राह्मण ब्राह्मणीहरुले तपस्या गर्दै आएका छन् । हाल यस मन्दीरमा ५१ जना मध्ये केही ब्राह्मण ब्राम्हणीहरु एक सय वर्ष भन्दा धेरै उमेरका बृद्धहरु पनि रहेका छन् । धार्मिक पर्यटन हिसावले यो ज्यादै महत्वपूर्ण रहेको छ । मन्दिरमा आश्रम गर्ने र कालिगण्डकीमा स्नान गर्न सकिने, कालिगण्डकी करिडोरको छेवैमा रहेको यो मन्दिर हिन्दु धर्मावलम्वीहरुका लागि महत्वपूर्ण गन्तव्य हो ।

हुक्रायो सेती नाग

हचिङ्कोट लेकको दक्षिण–पूर्वी कोखमा ठूलोलूम्पेक खास्तुङ सालघारी र सल्लाघारीको वीचमा ढुङ्गाको सेतो शिलामा अनौठो आकृति रहेको छ । ९ फिट गोलाई र ६० फिट लम्वाई रहेको सेती नागको प्रतिकको रुपमा दर्शन अवलोकन र पूजा प्रार्थना गर्न सेतो बाख्राको पाठा, दुध र कुखुरा लिएर टाढा–टाढाबाट समेत मानिसहरु आउने गर्दछन् । स्थानीय बासिन्दाहरूले सेती नागको प्रतिकको रुपमा दुधधार, सेतो पाठा र कुखुराको बली दिई पुज्दै आएका छन् । जसको टाउको बुढी सत्यवतीमा र पुच्छर कालीगण्डकीको किनार गुलम्डीमा रहेको विश्वास छ । लुम्पेकी थानी थान देखी दक्षिण तीर पैदल १ घण्टा यात्रा पछि यस ठाउँमा पुग्न सकिन्छ ।

हिले सिद्धबाबा

प्राचिनकालमा घना जंगलमा बटुवाले के छ भनि सोधेको जवाफमा स्थानीय मगरले हिले हिले (केछ केछ) भनेपछि ती वटुवाले त्यस लेकको नाम हिले रहन गएको किंवदन्ती रहेको छ । उक्त घना जंगलको शीरमा सिद्धबाबा मन्दिर रहेकोछ । सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र कालिगण्डकीको हर्मिचौर, जयाखानी र अर्वेनी गाउँकोे शिरमा रहेको यो लेकमा ठूलो सिद्धशिला रहेको छ । यर्हाँ हरेक दिन मूख्यतः वालाचतुर्दशीको दिन दुधधार दिने र परेवा उडाई पुज्ने, सतविज छर्ने प्रचलन छ । वालाचतुर्दशीको दिन यहाँ मेला पनि लाग्दछ । यो मेला करिव सत्तरी वर्ष पहिले भारतीय तपशी ब्राम्हणले जमिन मुनि वाईस दिन सम्म पानी मात्र खाई गुप्तवास सम्पन्न गरी वालाचतुर्दशीको दिन किर्तन गर्न ठूलोलुम्पेक, जयाखानी, अर्वेनी र हर्मीचौरका मानिसहरुलाई बोलाई सिद्धशिला दर्शन गर्ने र दुधधार दिन निम्ता दिएका थिए पछि त्यही निम्तालाई मेलाको रुपमा ऐतिहासिक परम्पराको प्रारम्भ गरेका थिए । यस भन्दा अघि पाल्पा बराङ्डीका दिनवन्धु घिमिरे र उनका पिताले छत्तिस वर्ष लामो तपस्या यहिँ ठाउँमा सम्पन्न गरेका थिए । त्यस पछि स्याङ्जा गोखुङ्गाका ब्राम्हणले पनि यहाँ तपस्या गरेको बुढापुरानाहरुले वताउछन् । यस लेकमा सत्यवती, हरामदाँडा,गंगासागर आदिको मौलिक थान र मन्दिरहरु रहेका छन् । विभिन्न खेलकुद र साँस्कृतिक कार्यक्रमको आयोजना गरी मेलालाई भव्यरुपले मनाउने प्रचलन छ । जडिवुटीहरुको खानीको रुपमा समेत यो लेकर्लाइ चिनिन्छ । ठूलोलुम्पेकबाट ३ किलोमिटर मोटरबाटो र १ घण्टा पैदल यात्रा पछि हिले सिद्धबाबा मन्दिर पुग्न सकिन्छ ।
अन्त्यमा, भौगोलिक सुन्दरता, प्राकृतिक तथा धार्मिक सम्पदा र कला संस्कृतिको विविधता नै हाम्रो देशको पर्यटन विकासको महत्वपूर्ण आधार हो । हाम्रो देशमा औद्योगिक विकास भै नसकेको अवस्थामा राष्ट्रको आर्थिक समृद्धीको लागि पर्यटन क्षेत्रलाई व्यावसायिकरण र औद्योगिकरणको नीति अख्तीयार गर्नु उपयुक्त मानिन्छ । आजको राष्ट्रिय सन्दर्भमा छोटो समय, कम मेहनत र थोरै लगानी तथा केही जागरुक साेंचले मात्रै पनि हाम्रो देश समाज र राष्ट्रको पर्यटन विकास गर्न सकिने आधारहरु प्रशस्त मात्रामा अलपत्र परेका छन् । भौगोलिक सुन्दरता, प्राकृतिक सम्पदा र कला सांस्कृतिक विविधताहरुको दिगो व्यवस्थापन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकेमा राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिन्छ ।
सन्दर्भ स्रोत :
डा. मिन श्रीस, भार्से–अर्कुल राज्यको ईतिहास
बुढी सत्यवती धाम व्यवस्थापन समितिको प्रतिवेदन
साकटेक नेपालको प्रतिवेदनहरु

Comments

comments